8 Point Agreement between CPN Maoist and Seven Party Alliance on 2nd Asar 2063 BS
सात राजनितिक दल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शिर्ष नेताहरु बिच भएको आठ बुंदे समझदारीपत्रको प्रेस वक्तव्य
आज मिति २०६३।०३।०२ का दिन सरकार–माओवादी वार्ता टोलीको आयोजनामा सात राजनीतिक दल र नेकपा (माओवादी) का शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा सहमति भएका बुँदाहरु निम्नप्रकार छन:
१. २०६२ मंसिर ७ गते सात राजनीतिक दल एवं नेकपा (माओवादी) बीच भएको १२ बुँदे समझदारी र २०६३ जेठ १२ गते सरकार–माओवादी वार्ता टोलीले सार्वजनिक गरेको नेपाल सरकार र नेकपा (माओवादी) बीच सहमति भएको युद्धविराम आचार संहितालाई दृढता र इमान्दारीताका साथ कार्यान्वयन गर्ने ।
२. प्रतिश्पर्धात्मक बहुदलीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्धता व्यक्त गर्दै तदनुरुप शान्तिपूर्ण ढङ्गले आ–आफ्ना गतिविधि सञ्चालन गर्ने ।
३. संविधानसभाको स्वतन्त्र तथा निष्पक्ष निर्वाचनका लागि दुवै पक्षका सेना र हतियारको व्यवस्थापनमा सहयोग गर्न र त्यसको अनुगमन गर्न संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने ।
४. २०४६ सालको जनआन्दोलन र हालैको ऐतिहासिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक अधिकारहरुको प्रत्याभूति गर्दै र १२ बुँदे समझदारीमा व्यक्त प्रतिवद्धता र युद्धविराम आचार संहिताको प्रस्तावनाको भावनालाई आधार बनाउँदै अन्तरिम संविधान निर्माण गर्ने, सोही अनुरुप अन्तरिम सरकार गठन गर्ने, संविधान सभाको निर्वाचनको मिति घोषणा गर्ने, सहमतिद्वारा अर्को व्यवस्था गरी प्रतिनिधिसभा भङ्ग गर्ने र नेकपा (माओवादी) द्वारा गठित जनसरकारहरु विघटन गर्ने ।
५. दूरगामी प्रभाव पार्ने राष्ट्रिय महत्वका विषयहरुमा सहमतिका आधारमा निर्णय लिने ।
६. नेपाली जनताले संविधान सभाको निर्वाचनमा कुनै डर, धाक, धम्की र हिंसाको प्रभाव विना नै संविधान निर्माणको प्रक्रियामा सहभागी हुन पाउने आधारभूत अधिकारको प्रत्याभूति गर्ने । निर्वाचनमा आवश्यकता अनुसार अन्तर्राष्ट्रिय पर्यवेक्षण तथा अनुगमन गराउने ।
७. संविधान सभाको निर्वाचनमार्फत वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय लगायतका समस्याहरुको समाधान गर्ने गरी राज्यको अग्रगामी पुर्नंसंरचना गर्ने । लोकतन्त्र, शान्ति, संमृद्धि, अग्रगमन तथा देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राख्दै नेपाल सरकार र नेकपा (माओवादी) बीच भएको युद्धविरामलाई स्थायी शान्तिमा परिणत गर्ने र वार्ताको माध्यमबाटै समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्ने ।
८. सरकार–माओवादी वार्ता टोलीलाई माथि उल्लेखित विषयहरुसंग सम्बन्धित सबै कार्यहरु अविलम्व सम्पन्न गर्न निर्देशन गरिएको छ ।
नेकपा (माओवादी) को तर्फबाट सात राजनीतिक दलको तर्फबाट
प्रचण्ड श्री गिरिजाप्रसाद कोइराला
अध्यक्ष प्रधानमन्त्री तथा सभापति
नेकपा (माओवादी) नेपाली कांग्रेस
श्री माधव कुमार नेपाल
महासचिव
नेकपा (एमाले)
श्री शेर बहादुर देउवा
सभापति
नेपाली कांग्रेस (प्रजातान्त्रिक)
श्री अमिक शेरचन
उप–प्रधानमन्त्री तथा अध्यक्ष
जनमोर्चा नेपाल
श्री नारायणमान विजुक्छे
अध्यक्ष
नेपाल मजदूर किसान पार्टी
श्री भरत विमल यादव
उपाध्यक्ष
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)
श्री प्रभुनारायण चौधरी
मन्त्री तथा अध्यक्ष
बाममोर्चा नेपाल
मिति : २०६३।०३।०२ गते ।

Comments
Post a Comment